Saturday, February 5, 2011

घट्यो टेलिफोन शुल्क


नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (टेलिकम)ले तारसहितका फोन, जीएसएम मोबाइल र इन्टरनेटको शुल्क घटाएको छ । जीएसएम र सीडीएमए मोबाइल सेवामा राति १० देखि ६ बजेसम्म कायम रहँदै आएको प्रतिमिनेट ७५ पैसा फागुन १ देखि घटेर ५५ पैसामात्र हुनेछ ।
सातौं वार्षिकोत्सवको उपलक्ष्यमा टेलिकमले आधारभूत टेलिफोन (पीएसटीएन) सेवाको नयाँ धरौटीमा ५० प्रतिशत कम गरी १ हजार ५ सय रुपैयाँ कायम गरेको छ । फागुन १ देखि नयाँ जडान खर्च ३ सय २०  रुपैयाँ (करबाहेक) मात्र लाग्ने कम्पनीले जनाएको छ । २०६६ असार मसान्तसम्मको पुरानो बक्यौता रकम बुझाएमा सोमा लाग्ने सम्पूर्ण जरिवाना मिनाहा गर्ने व्यवस्था कम्पनीले गरेको छ ।
जीएसएम मोबाइलको एमएमएस सेवामा प्रतिमिनेट १ रुपैयाँ ५० पैसा र भिडियो कलमा प्रतिमिनेट २ रुपैयाँ कायम गरिएको छ । त्यसैगरी १४२४ र १४२५ मार्फत एक्सेस कोडमार्फत गरिने कलमा लाग्ने शुल्कमा पनि समायोजन गरिएकोे छ । कम्पनीले इन्टरनेट लिज र फाइबर ब्यान्डविथ लिजको महसुलमा ३० प्रतिशत छुट दिने भएको छ ।
टेलिकमले प्रिपेड कलिङ कार्डको १ हजार दरमा १५ प्रतिशत छुट उपलब्ध गराउने भएको छ । सोमबारसम्म हुने जीएसएम सेवाको रिचार्ज कार्डमा १० प्रतिशत छुट दिइएको छ । इन्टरनेटतर्फ होम–बेस्ड एडीएसएल सेवा प्रतिमहिना ९ सय रुपैयाँमा १९२ किलोबाइट प्रतिसेकेन्ड ब्यान्डविथ उपलब्ध गराइने भएको छ । छुटअघि यो महसुलमा १२८ किलोबाइट प्रतिसेकेन्ड ब्यान्डविथ उपलब्ध थियो । त्यसैगरी ‘भोलुम बेस्ड’ ग्राहकका लागि प्रतिमहिना १ हजार ६० रुपैयाँमा ६ गिगाबाइटको सेवा उपलब्ध गराइने भएको छ ।
कम्पनीका ग्राहक गत वर्षको तुलनामा २० प्रतिशतले वृद्धि भई पुस महिनासम्म ६४ लाख नाघिसकेको टेलिकमले जनाएको छ । सबैभन्दा बढी जीएसएमतर्फ ४७ लाख तथा सीडीएमएतर्फ १० लाख र पीएसटीएनमा करिब ६ लाख ग्राहक छन् ।
“कुल टेलिघनत्वमा २३ प्रतिशत योगदान दिएको कम्पनीले ग्राहक सेवालाई सम्बोधन गर्न नसके कम्पनीको आर्थिक अवस्था भविष्यमा बिग्रिन्छ,” वार्षिकोत्सव समारोहमा बोल्दै सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले भने । नेक्स्ट जेनेरेसन नेटवर्क (एनजीएन) जस्तो ठूलो परियोजना खारेज हुुनुले दूरसञ्चार विकासमा क्षति भएको उनले बताए ।
“अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्ततः खारेजी प्रक्रियाको निर्णय ग¥यो, त्यो राष्ट्रको हितका लागि थिएन,” उनले भने, “एनजीएन जुनसुकै बहानामा खारेज गरिए पनि राष्ट्रका लागि कब्किो जायज सेवा हो भन्नेमा नियामक निकायको विवेक जानु आवश्यक छ ।”
नीतिनिर्माण तहमा स्पष्टताको अभावले गर्दा व्यावसायिक रूपमा दूरसञ्चार सेवा अगाडि बढ्न नसकेको सञ्चालन समिति सदस्य टंकलाल श्रेष्ठले बताए । त्यस्तै, सेवाको गुणस्तरसम्बन्धी समस्यालाई न्यूनीकरण गर्न कम्पनीले प्रयास गरिरहेको र ऊजा संकटका कारण उत्पन्न हुने समस्या रोक्न वैकल्पिक ऊर्जाको व्यवस्था गरिएको प्रबन्ध निर्देशक अमरनाथ सिंहले उल्लेख गरे ।
कम्पनीले एनजीएनको बोलपत्र पुनः आह्वान गर्नुपरेकोले ब्रिजिङ पोजेक्टको रूपमा ८० स्थानमा अप्टिकल नेटवर्क युनिट (ओएनयू) जडान गरी लाइन वितरण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ । त्यसैगरी आईपी सीडीएमएको बोलपत्र पुनः आह्वान गरिने सिंहले बताए ।
कम्पनीले चालू आर्थिक वर्षको अन्त्यसम्म ५ सय बीटीएस थप गर्ने लक्ष्य लिएको छ । पूर्वाधार विकासका लागि उसले नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरी ३ हजार किलोमिटर अप्टिकल फाइबर विस्तार गर्ने कार्यक्रमअनुरूप पाँच भिन्न स्थानमा नमुना परियोजनाका लागि बोलपत्र आह्वान गर्ने भएको छ ।
चालू आव २०६७/६८ मा कम्पनीको वार्षिक राजस्व लक्ष्य २८ अर्ब १७ करोड तथा आयकरपछिको मुनाफा लक्ष्य १२ अर्ब ८ करोड रुपैयाँ छ ।
source: karobar daily 
Date : 2067-10-23

No comments:

Post a Comment