Saturday, February 5, 2011

मोबाइलबाट राति ५५ पैसामा फोन

काठमाडौ, माघ २२ -
नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताले फागुन १ गने देखि राति प्रतिमिनेट ५५ पैसामा कुराकानी गर्न सक्ने भएका छन् । कम्पनीले सातौं वाषिर्कोत्सवको अवसरमा राति १० देखि बिहान ६ बजेसम्म सबै प्रकारका मोबाइल प्रयोगकर्तालाई सस्तो शुल्कमा फोन गर्न पाउने घोषणा गरेको हो ।

'जीएसएम र सीडीएमएका पोस्टपेड तथा पि्रपेड मोबाइल प्रयोगकर्ताले सस्तो शुल्कमा फोन गर्न पाउनेछन्,' कम्पनीका प्रबन्ध निर्देशक अमरनाथ सिंहले भने, 'हाल यस अवधिमा प्रतिमिनेट ७५ पैसा शुल्क लाग्छ ।'

कम्पनीले माघ २२ देखि २४ गतेसम्म जीएसएम मोबाइलको एक सय र दुई सय रुपैयाँको रिचार्जमा क्रमशः १० र २० रुपैयाँ बोनस दिने जनाएको छ । सीडीएमएको २ सय ४ रुपैयाँको रिचार्जमा २० रुपैयाँ बोनस दिने भएको छ ।

फागुन १ देखि लागू हुने गरी कम्पनीले एडीएसएल सेवामा विभिन्न योजना ल्याउने भएको

छ । घरायसी एडीएसएल उपभोक्तालाई प्रतिमहिना ९ सय रुपैयाँमा दिँदै आएको १ सय २८ केबीपीएस गतिको इन्टरनेट ब्यान्डविथ बढाएर १ सय ९२ केबीपीएस पुर्‍याउने भएको छ । १ हजार ५ सय रुपैयाँमा दिदै आएको २ सय ५६ केबीपीएसको एडीएसएलको गति ३ सय ८४ केबीपीएस पुर्‍याउनेछ ।

भोलुम बेस -जत्ति डाटा चलायो त्यति पैसा लाग्ने) एडीएसएल सेवाका ग्राहकले प्रतिमहिना ६ सय ६० रुपैयाँमा ३ जीबीसम्म डाटा डाउनलोड गर्न सक्नेछन् । हाल यस शुल्कमा २ जीबी डाटा मात्र डाउनलोड गर्न सकिन्छ । यस्तै १ हजार ६० रुपैयाँमा १ हजार ६० रुपैयाँमा दिइएको ४ जीबी डाटा डाउनलोड गर्न सकिने सेवालाई बढाएर ६ जीबी पुर्‍याउने भएको छ ।

यसैगरी आधारभुत टेलिफोनको जडान धरौटी ३ हजारबाट १ हजार ५ सय रुपैयाँ झार्ने भएको छ । नयाँ जडान खर्च ९ सय रुपैयाँबाट घटाएर ३ सय २० रुपैयाँ कायम गर्ने तयारी गरेको छ । जीएसएममा एमएमएस १ रुपैयाँ ५० पैसा र भिडियो कल शुल्क २ रुपैयाँ कायम गरिएको सिंहले बताए । एक्सेस कोड १४२४ बाट फागुनदेखि साइप्रस, स्विडेन, हंगेरी र फिनल्यान्डमा प्रतिमिनेट एक रुपैयाँमा फोन गर्न सकिन्छ । यस्तै जर्मनी, नेदरल्यान्ड, स्पेन र डेनमार्कमा प्रतिमिनेट १० र नर्वे, बेल्जियम र स्विटजरल्यान्डमा प्रतिमिनेट १५ रुपैयाँ शुल्क लाग्नेछ ।

एक्सेस कोड १४२५ मार्फत बहराइन, इरान, इराक, इजरायल, कुवेत, लेबनान, कतार, साउदी अरेबिया र यूएईमा फोन गर्दा प्रतिमिनेट शुल्क १२ रुपैयाँ लाग्ने छ । कम्पनीले प्रदान गरिरहेको इन्टरनेट लिज र फाइवर ब्यान्डविथ लिजको महसुलमा ३० प्रतिशत छुट दिने जनाएको छ ।

'आधारभूत टेलिफोनको ०६६ असारसम्मको बक्यौता रकम बुझाएर जरिवाना छुट र एक हजारको पि्रपेड कलिङ कार्डमा १५ प्रतिशत छुटको व्यवस्था छ,' उनले भने, 'यो सुविधा फागुन १ गतेदेखि चैतसम्म दिनेछौं ।'

उनले कम्पनीका कुल ग्राहक गत वर्षको मंसिरभन्दा २० प्रतिशतले वृद्धि भई ५८ लाख पुगेको जनाएको छ । पुस अन्तसम्ममा यो संख्या ६४ लाख नाघेको उनले बताए ।

कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले एनजीएनको ठेक्का रद्द गर्ने निर्णय गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रघाती निर्णय गरेको बताए ।

'मेरो कार्यावधिमा टेलिकमले धेरै उपलब्धि हासिल गरे पनि एनजीएन भित्र्याउन असफल भयो,' उनले भने, 'यसको ठेक्का रद्द गर्ने निर्णय राष्ट्रघाती थियो । यसले अत्यन्तै ठूलो क्षति पुगेको छ ।' उनले टेलिकमको छिट्टै रणनीतिक साझेदार आउनेसमेत बताए ।



Source: kantipur
Date: 2067-10-23

No comments:

Post a Comment