Saturday, February 5, 2011

टेलिकमले सेवाशुल्क कटौती गर्ने



नेपाल टेलिकमले फागुन १ देखि विभिन्न सेवामा शुल्क कटौती तथा छुट दिने भएको छ । टेलिकमले टेलिफोन जडान शुल्क, धरौटी, १४२४ र १४२५ डायलमार्फत गरिने अन्तर्राष्ट्रिय कल र पुरानो बक्यौता जरिवाना मिनाहा गर्ने जनाएको छ ।
सातौँ वाषिर्कोत्सवका अवसरमा टेलिकमले सेवाशुल्कमा कटौती तथा छुट घोषणा गरेको हो । सेवासुविधामा छुट दिए पनि गुणस्तरबारे भने टेलिकम व्यवस्थापनले कर्मचारीमाथि दोष लगाएको छ ।
टेलिकमले ०६६ असार मसान्तसम्मको पुरानो बक्यौता तिर्ने ग्राहक तथा संघसंस्थालाई जरिवाना रकम पूरै मिनाहा गर्ने भएको छ । त्यस्तै, १ हजारको पि्रपेड कलिङ कार्डमा पनि १५ प्रतिशत छुट उपलब्ध गराइनेछ । त्यस्तो सुविधा चैत मसान्तसम्म रहेको टेलिकमले जनाएको छ ।
फागुन १ पछि सधैँका लागि उपलब्ध गराउन लागिएको सुविधामा आधारभूत टेलिफोन -ल्यान्डलाइन) सेवाको नयाँ जडानमा धरौटी रकम आधा घटाई १ हजार ५ सय गरिनेछ । त्यस्तै, जडान खर्च ९ सयबाट घटाएर ३ सय २० रुपैयाँ कायम गरिने टेलिकमले जनाएको छ । मल्टिमिडिया म्यासेज सर्भिस -एमएमएस) मा प्रतिमिनेट करबाहेक १ रुपैयाँ ५० पैसा र भिडियो कलको २ रुपैयाँ गरिने भएको छ ।
१४२४ एक्सेस कोडमार्फत गरिने अन्तर्राष्ट्रिय कलमा पनि विभिन्न मुलुकमा शुल्क कटौती हुनेछ । शुल्क कटौती मुलुकमा साइप्रस स्विडेन, हंगेरी र फिनल्यान्डको प्रतिमिनेट ८ रुपैयाँ कायम भएको छ । जर्मनी, नेदरल्यान्ड, स्पेन र डेनमार्कको प्रतिमिनेट १० रुपैयाँ र नर्वे, बेल्जियम र स्विट्जरल्यान्डको प्रतिमिनेट १५ रुपैयाँ कायम गरिने भएको छ । यसअघि ती मुलुकमा प्रतिमिनेट २० रुपैयाँ थियो ।
त्यस्तै, १४२५ एक्सेस कोडमार्फत बहराइन, इरान, इराक, इजरायल, कुवेत, लेवनान, कतार, साउदी अरेबिया र युएईमा फोन गर्दा प्रतिमिनेट १२ रुपैयाँ कायम गरिने भएको छ । टेलिकमले इन्टरनेट र फाइवर ब्यान्डविथका लिज लाइन शुल्कमा पनि ३० प्रतिशत कटौती गर्ने जनाएको छ ।
त्यस्तै, पि्रपेड र सिडिएमए मोबाइलमा राति १० देखि बिहान ६ बजेसम्म प्रतिमिनेट ७५ पैसा लाग्दै आएकोमा घटाएर ५५ पैसा बनाइने भएको छ ।
त्यस्तै, माघ २२ देखि २४ सम्म जिएसएम सेवाको १ सय र २ सय रुपैयाँको रिचार्जमा १० रुपैयाँ र २० रुपैयाँ छुट दिइने भएको छ । सिडिएमए फोनको २ सय रुपैयाँको रिचार्जमा पनि २० रुपैयाँ छुट दिने टेलिकमले जानकारी दिएको छ ।
टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहले कम्पनीले सेवासुविधा बढाउँदै लगे पनि कर्मचारीको कार्यशैली र व्यवहारका कारण उत्पादकत्वमा नकारात्मक असर परेको बताए । टेलिकमको सातौँ वाषिर्कोत्सव कार्यक्रममा शनिबार प्रबन्ध निर्देशक सिंहले कर्मचारीले आगामी दिनमा कार्यशैली र सोच परिवर्तन गरी उत्पादकत्व वृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिए ।
कर्मचारीमा असमझदारी र असन्तुष्टि हुनु स्वभाविक भए पनि त्यसलाई व्यक्त गर्ने शैली व्यावहारिक नभएको सिंहको गुनासो थियो ।
कार्यक्रमका प्रमुख अतिथि सूचनामन्त्री शंकर पोखरेलले टेलिकमको व्यवस्थापनले कर्मचारी र ट्रेड युनियनको दबाबमा परेर धेरै काम गर्न नसकेको देखिएको बताए । मन्त्री पोखरेलले कर्मचारीले सधैँ व्यवस्थापनलाई नियन्त्रणमा राख्ने सोच राखिरहे टेलिकम प्रतिस्पर्धामा उत्रिन नसक्नेतर्फ सचेत गराए ।
उनले सरकार फेरिए पनि नीति नफेरिने हुँदा टेलिकम व्यवस्थापन त्यसप्रति डराउनुपर्ने अवस्था नआउने विश्वास दिलाए ।
सरकारी स्वामित्वको कम्पनी भएकाले सार्वजनिक खरिद ऐनअनुसार काम गर्दा सेवासुविधा दिन ढिलो हुने गरेको र टेन्डर स्विकृतिमा गुणस्तर भन्दा मूल्यलाई ध्यान दिइने भएकाले गुणस्तरमा समस्या परेको देखिएको मन्त्री पोखरेलको भनाइ थियो ।
सञ्चालक टंकलाल श्रेष्ठले अन्य कम्पनीसँग प्रतिस्पर्धा गर्न टेलिकमलाई पूर्ण स्वायत्त बनाइनुपर्नेमा जोड दिए । सरकारी नियन्त्रणका कारण कर्मचारीको काम गर्ने उत्साहमा कमी आएको उनले दाबी गरे ।
टेलिकमले गत मंसिर मसान्तसम्ममा ग्राहक संख्या ५८ लाख नाघेको र मुलुकका ३ हजार ९ सय १५ वटै गाविसमा टेलिफोन सेवा पुर्‍याइसकेको जनाएको छ ।

नयाँ पत्रिका

No comments:

Post a Comment